
भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।
उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नेपाल भ्रमणमा आएका हुन्। काठमाडौँ ओर्लिएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादमा सहभागी हुन आज काठमाडौँ, नेपालमा आइपुगेको छु। मेरो दुई दिने भ्रमणका दौरान म हिमालयलाई जलवायु परिवर्तनबाट जोगाउने र पारिस्थितिक प्रणाली र यसमा निर्भर समुदायहरूको भविष्यको संरक्षण गर्ने भारतको दृष्टिकोण प्रस्तुत गर्नेछु।’
अपराह्न काठमाडौँ आइपुगेका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदै छ।