जोडिनुहोस
  • होमपेज
  • शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को  परीक्षा रोकिने सम्भावना बढ्यो

शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को  परीक्षा रोकिने सम्भावना बढ्यो

शिक्षकहरूले आज १६औं दिन पनि काठमाण्डौको सडकमा प्रदर्शन गरेका छन् । चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडकमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेशवर सडक अवरुद्ध भएको छ । शिक्षकहरूले सडक ढाक्ने गरी प्रदर्शन गरिरहेका छन् । माइतीघर–नयाँ बानेश्वर सडकको प्रभावले बागमती करिडोरसहित अरू सडकहरूमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ । सरकारले बजेट अधिवेशन आह्वान गरेर फास्ट ट्र्याकु बाट विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले विश्वास गरेका छैनन् । सरकारबाट यसअघि धोका पाएको भन्दै शिक्षकहरू यस पटक ऐन लिएर मात्रै फर्कने अडानमा छन् । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि हुने तालिका छ । शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले बताउनुभयो । शिक्षकहरू परीक्षामा आउने आशामा रहेको तर अब समय कम हुँदै गएको उहाँले बताउनुभयो । कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन नभएमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने भएकोले शिक्षक र सरकार दुवै संवेदनशील हुनुपर्ने बोर्डका अध्यक्ष शर्माको भनाइ छ । बोर्डले विज्ञप्ति निकालेर परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ । यस्तै निजी विद्यालयमा भर्ना अभियानसँगै कक्षा सञ्चालनसमेत शुरू हुन थालिसकेकोले निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीचको विभेद झन् चुलिने भन्दै शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका