जोडिनुहोस
  • होमपेज
  • तीनकुने घटना : राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

तीनकुने घटना : राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनमा आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर भएको छ ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो भने लुटपाट र आगजनी भएको थियो ।

हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिश्रलाई पक्राउ गरेको थियो । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा उनी पक्राउ परेका थिए ।

प्रहरीले उनलाई ५० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेको थियो । सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । त्यसपछि अहिले उनी हिरासत बाहिरै छन् ।

तीनकुने प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।

प्रदर्शनकारीले व्यक्तिका निजी घर तोडफोडदेखि आगलागीसम्म गरेका थिए । भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको थियो । उक्त प्रदर्शनमा उनी तीनकुनै थिए । उनले भिडलाई उक्साएको आरोप छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका