
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा निर्वाचन आयोगले मूल्यांकन गरेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
बुधबार आयोगद्वारा आयोजित जलपान समारोहमा भण्डारीले यस्तो बताएका हुन् । कुनै पनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै उनले नेपालको इतिहासकै सफल निर्वाचनको रूपमा व्याख्या गरे ।
उनले निर्वाचन अवधिभर राजनीतिक दल, उमेदवार र मतदाताले देखाएको संयमको प्रशंसा गरे । जेनजी आन्दोलन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न हुनुलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित भन्दै उच्च मूल्यांकन गरेको प्रतिवेदन प्राप्त भएको भण्डारीले बताए ।






















