
किष्ट शिक्षण अस्पताल अन्तर्गत किष्ट प्रत्यारोपण केन्द्रले बुधबार ‘अंगदाता सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न गरेको छ।
मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्याउने अंगदाताहरूप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको अस्पतालले जनाएको छ।कार्यक्रमको उद्घाटन चिरिबाबु महर्जन ले गरेका थिए। कार्यक्रममा बोल्दै उनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै अंगदाताहरूलाई समाजका वास्तविक नायकको रूपमा चित्रण गरे। उनले भने, “कुनै व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यस्तो महान कार्यलाई समाजभर अझ व्यापक रूपमा प्रोत्साहन गर्न आवश्यक छ।” उनले किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रमा प्रत्यारोपण सेवामा पुर्याएको योगदानको पनि प्रशंसा गरे।
अस्पतालका अनुसार विगत पाँच वर्षदेखि ग्वार्कोस्थित अस्पताल निजी क्षेत्रमा उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ। हालसम्म अस्पतालले २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरी बिरामीहरूलाई ‘दोस्रो जीवन’ प्रदान गरेको जनाएको छ।
अस्पतालले आफ्नो सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउँदै एनएबीएच ९ल्ब्द्यज्० प्रमाणीकरण प्राप्त गरेको पनि जनाएको छ। अत्याधुनिक प्रविधिको प्रयोगमार्फत एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण, आपसी सहमतिमा हुने अंग प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट गरिने प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक हुँदै आएको अस्पतालले दाबी गरेको छ।
नेपालमा एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यक्रिया पहिलो पटक किष्ट शिक्षण अस्पतालले गरेको उल्लेख गर्दै उक्त उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय संयुक्त वार्षिक समीक्षा प्रतिवेदन २०७९र८० मा समेत समावेश गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीमध्ये सबैभन्दा बढी उमेर ८० वर्ष र सबैभन्दा कम उमेर १९ वर्षका बिरामी रहेका छन्। एक ८० वर्षीया महिलाको अंगदानमार्फत आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपत्यकाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





















