
राजावादीहरूले आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिनदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित जुटेका विभिन्न राजावादी दल र समूहले यस्तो घोषणा गरेका हुन् । उनीहरूले अब राजा र हिन्दु राज्य फर्काउन सुवेदीकै नेतृत्वमा आन्दोलन गर्ने सहमति पनि जुटाएका छन् ।
राजावादीहरूले गणतन्त्रवादी दलहरूसँग अझै पनि सहमति र समझदारीको आधारमा वर्तमान संविधानकै परिधिभित्रबाट आफ्ना मागहरू सम्बोधन गर्ने विकल्प रहेको बताएका छन् ।
‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उदेश्यहरू प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न २०८२ जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ’, सुवेदीले भनेका छन्। ‘यो आन्दोलनको संयोजन र परिचालन वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन समिति’मार्फत् हुनेछ । हामी सबै दल र समूहहरू संयुक्त जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल तुल्याउने संकल्प गर्दछौँ ।’
उनीहरूले ‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना तथा सुशासनको लक्ष्य प्राप्तिको लागि जनआन्दोलन गर्ने घोषणा, समझदारी तथा प्रतिवद्धता पत्र’ पनि सार्वजनिक गरेका छन् ।
राजावादीहरूले २०६३ जेठ ४ गते पुनःर्स्थापित प्रतिनिधि सभाले असंवैधानिक ढंगबाट हिन्दुराष्ट्रको पहिचान समाप्त गर्ने तथा राजसंस्थालाई पाखा लगाउने घोषणा गरेसँगै सुरू भएको राजनीतिक यात्राको परिणामस्वरूप देश अहिले गम्भीर संकटमा रहेको पनि निष्कर्ष निकालेका छन् । २०७२ असोज ३ गते जारी संविधानले स्थापना गरेको संघीय धर्मनिरपेक्ष गणतन्त्र पूर्णतः असफल प्रमाणित भएको पनि उनीहरूको निष्कर्ष छ ।
‘जनताको प्रत्यक्ष अभिमतबिना नै बाह्य शक्तिहरूको प्रभाव र उग्रवामपंथी माओवादीको दबाबमा लादिएको संघीय धर्मनिरपेक्ष गणतन्त्रले नेपालमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्दको अवस्था सिर्जना गरेको छ’, सुवेदीले भनेका छन् ।
उनले लामो समयदेखि अधुरो रहेको नेपाली जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा र सपनालाई तुषारापात गरेको जिकिर गरेका छन् । ‘नेपाल गम्भीर आर्थिक संकटको संघारमा आइपुगेको छ । ‘रेमिट्यान्स’ र त्यसको कारण देखिने केही प्रभाव वाहेक आर्थिक क्षेत्रका प्रायः सबै सुचकांक नकारात्मक रहेका छन्’, चैत १५ पछि करिब एक महिना घरमै नजरबन्द रहेका सुवेदीले भनेका छन्, ‘प्रत्येक घर परिवार र व्यवसाय आर्थिक मन्दी र संकटको चपेटामा परेका छन् ।’
देशभित्र रोजगारीको अवसर सिर्जना हुन नसकेको कारण जीविकाको निम्ति लाखौं युवाहरू विदेशिन बाध्य भएका उनको तर्क छ । ‘बेरोजगारी समस्या विकारल भएको छ । राजनीतिक दल, सरकार र राज्यप्रतिको भरोसा टुटेको कारण आफ्नो मातृभूमिको नागरिकता र राहदानीसमेत सदाको निम्ति त्यागेर विदेश पलायन हुनेहरूको संख्या पनि कहाली लाग्दो छ’, वक्तव्यमा भनिएको छ ।
उनीहरूले असफल प्रमाणित भइसकेको संघीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा जनआन्दोलनको बल र जगमा अझ उन्नत र पूर्ण प्रजातान्त्रिक प्रणाली स्थापना गर्ने पनि तर्क गरेका छन् ।
राजा र हिन्दु राज्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कंग्रेस ९बिपी०, शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्च लगायतका राष्ट्रवादी दल र समूह अब सुवेदीको नेतृत्वमा संगठित भएका छन् । उनीहरूले त्यसका लागि एक समझदारी पनि गरेका छन् ।