जोडिनुहोस
  • होमपेज
  • भारतीय राजदूत क्रिकेट प्रतियोगिता २०२५ सम्पन्न

भारतीय राजदूत क्रिकेट प्रतियोगिता २०२५ सम्पन्न

काठमाडौंस्थित भारतीय राजदूतावासले २०८२ जेठ १७ गतेदेखि जेठ २५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्‍यो ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेटहरु र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने छ टोलीहरुको उत्साहजनक सहभागिता देखिएको थियो ।

नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) को उपस्थितिमा २०८२ जेठ १७ गते उद्घाटन समारोह सम्पन्न भएको थियो ।

एक हप्ताको उत्साहजनक र मैत्रीपूर्ण प्रतिस्पर्धापछि जेठ २५ गते एक रोमाञ्चक फाइनल म्याचसँगै प्रतियोगिता सम्पन्न भयो । सो खेलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा गर्‍यो ।

फाइनलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई सम्मान गरिएको थियो ।

साँझपख प्रतियोगिताको सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, राजदूत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सम्मानित सदस्यहरुको उपस्थिति थियो ।

सौहार्दता र खेलकुद भावनालाई सुदृढ पार्दै सहभागी छवटै टोलीका सदस्यहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । खेलकुदको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई अझ प्रगाढ बनाउने एउटा महत्वपूर्ण कदम स्वरुप राजदूतले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेटरहरुलाई क्रिकेट किटहरु हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा भारतीय राजदूतावास, काठमाडौँले “नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप” को सुरुवातको पनि घोषणा गर्‍यो जस अन्तर्गत नेपालबाट दुइजना युवा क्रिकेटरहरुलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर प्रदान गरिनेछ ।

यो पहल क्रिकेटप्रतिको साझा प्रेम मार्फत नेपालमा युवा विकासलाई सहयोग गर्ने र जनता–जनताबीचको बलियो सम्बन्धलाई प्रवद्र्धन गर्ने भारतको निरन्तर प्रतिबद्धताको अंश हो । भारत नेपालमा क्रिकेटको विकासप्रति प्रतिबद्ध छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका