
रौतहट। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनाको अवधिमा रु १ करोड ८२ लाख ९५ हजार ६५० बराबरका अवैध सामानहरू बरामद गरेको छ। फागुन १ गतेदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको नियन्त्रण तथा अनुगमन अभियानमा उक्त परिमाणको अवैध सामग्री फेला परेको हो।
गणपति सन्तोषकुमार बस्नेतका अनुसार सो अवधिमा मात्रै रु ६९ लाख ३२ हजार मूल्य बराबरका सवारीसाधन नियन्त्रणमा लिइएको छ। बरामद सामग्रीमा एक थान स्कार्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल, र ४ थान साइकल समावेश छन्।
त्यस्तै, रु ८५ लाख ६८ हजार २२४ बराबरका अवैध किराना सामान, कस्मेटिक सामग्री, लत्ताकपडा, र मोटरपार्ट्सहरू समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
स्रोत नखुलेको रु १० लाख ६१ हजार नेपाली रुपैयाँ र छ लाख चार हजार ६४० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ। यस्तै, एक थान सेमी अटोमेटिक पेस्तोलसमेत फेला परेको छ।
मानव बेचबिखनको जोखिममा परेका १० जना नेपाली महिलाहरूको उद्धार गरिएको गणपति बस्नेतले जानकारी दिनुभयो। साथै, सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध समेत बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलले पाँच वटा मातहत युनिटहरूलाई चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न थप निर्देशन दिएको जनाएको छ।
गणपति बस्नेतले भने, “सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको सक्रियताका कारण अवैध कारोबार र आपराधिक गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको छ।”