जोडिनुहोस
  • होमपेज
  • कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग धराशायी, नियमित सञ्चालन नहुँदा खारेजीको लहर

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग धराशायी, नियमित सञ्चालन नहुँदा खारेजीको लहर

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन्। उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ।

खारेजीमा पर्नेमा सबैभन्दा बढी दैलेखका उद्योग छन्, जहाँ एक हजार ६७५ वटा उद्योग खारेज भएका छन्। सुर्खेतमा एक हजार ४५५, कालिकोटमा चार सय ७८, जुम्लामा पाँच सय ८७, मुगुमा २१, सल्यानमा पाँच सय दुई, जाजरकोटमा चार सय २७ र डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन्। हुम्लामा नौ र रुकुमपश्चिममा एक सय ५८ वटा उद्योग खारेज गरिएको निर्देशनालयका प्रमुख देवीलाल सापकोटाले जानकारी दिए।

कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा १४ हजार २६५ वटा थिए। तर, हाल यहाँ एक हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन्। दैलेखमा दर्ता भएका चार हजार ७४८ मध्ये तीन हजार ५९१, कालिकोटमा दर्ता भएका दुई हजार ८३७ मध्ये एक हजार ९३६ र जुम्लामा दर्ता भएका चार हजार ३८६ मध्ये दुई हजार ३५७ उद्योगले मात्र नवीकरण गरेका छन्।

मुगुमा दुई हजार २३ दर्ता भएकामा ४५०, सल्यानमा तीन हजार ६६३ दर्ता भएकामा तीन हजार २१७, जाजरकोटमा तीन हजार ६८ दर्ता भएकामा एक हजार ८९७ र डोल्पामा दुई हजार २३६ दर्ता भएकामा नौ सय २२ उद्योगले मात्र नवीकरण गरेका छन्। हुम्लामा तीन हजार ७१९ दर्ता भएकामा ७३६ र रुकुमपश्चिममा दुई हजार ७३३ दर्ता भएकामा दुई हजार २५० उद्योग सञ्चालनमा रहेको तथ्याङ्क निर्देशनालयले सार्वजनिक गरेको छ। यी दर्ता भएका उद्योगबाट एक लाख २१ हजार ५५५ जनाले रोजगारी पाएको पनि निर्देशनालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका