
खोटाङ। खोटाङ जिल्लाका ९६ प्रतिशत घरपरिवारले विद्युत् सेवा उपभोग गरिरहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको सर्वेक्षण अनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन, १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् आपूर्ति भएको छ।
केन्द्रीय प्रसारण लाइन विस्तार भएको २५ वर्ष बितिसक्दा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित छन्। २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको औपचारिक उद्घाटन गरेका थिए। प्राधिकरणका अनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरपरिवारले विद्युत् उपभोग गरिरहेका छन्। विद्युतीकरण हुन बाँकी दुई हजारभन्दा बढी घरपरिवार अझै पनि मट्टितेलको धिप्री र सोलार टुकीको भर पर्नुपर्ने अवस्थामा छन्।
विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले विद्युत् पुग्न बाँकी घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न पाँच करोड रुपैयाँ बजेट आवश्यक पर्ने जानकारी दिए। उनले केन्द्रमा बजेट माग गरिएको र स्वीकृत भएमा आगामी वर्ष जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुने बताए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सबस्टेशनबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ। तीन जिल्लाका लागि वितरण गरिएको केन्द्रीय प्रसारण लाइनमा बारम्बार समस्या आउने गरेको छ। विज्ञहरूले यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावर जडान गर्नुपर्ने बताएका छन्।
जिल्लामा उत्पादित १०.६ मेगावाट विद्युत् तीनवटा जलविद्युत् आयोजनाबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावरले उक्त विद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा प्रवाह गरिरहेका छन्। जिल्लामा उत्पादित विद्युतमध्ये एक तिहाइ पनि खपत भएको छैन।
केन्द्रीय प्रसारण लाइनको विद्युत् बारम्बार अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा परेका छन्। सामान्य पानी पर्दा, हावा चल्दा र बाढीपहिरो आउँदा पनि विद्युत् आपूर्ति बन्द हुने गरेको छ। एकै दिनमा धेरै पटक विद्युत् आउने र जाने समस्याले सेवाग्राही आजित भएका छन्। केन्द्रीय प्रसारण लाइनको विद्युत्को अनियमितताले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको उपभोक्ताको गुनासो छ। लामो दूरी, जङ्गलको बाटो, होचा खम्बा र पहिरोका कारण विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ।