
काठमाडौं । नेपाल तरुण दल जिल्ला समिति सोलुखुम्बुले स्तन क्यान्सरबाट पीडित याङ्जी शेर्पालाई आर्थिक सहयोग प्रदान गरेको छ।
नेचा–सल्यान गाउँपालिका–१, याली स्थायी घर भई हाल काठमाडौंको बौद्ध नयाँबस्तीमा बसोबास गर्दै आएकी ३८ वर्षीया याङ्जी शेर्पालाई उपचार सहयोगस्वरूप ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। तरुण दल सोलुखुम्बुका अनुसार अमेरिका स्थित रामेछाप शेर्पा समाजका छिरिङ शेर्पा, आङ ङिमा शेर्पा र ल्हाक्पा तेन्जी शेर्पाबाट प्राप्त रकम पीडितलाई उपलब्ध गराइएको हो। सहयोग हस्तान्तरण गर्दै नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले तरुण दल केवल राजनीतिक र वैचारिक संगठन मात्र नभई मानवीय सेवामा पनि सक्रिय रहेको बताए। उनले भूकम्प, आगलागीलगायत विपद्का समयमा समेत संगठनले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।

उनले क्यान्सर पीडित याङजी शेर्पाको उपचारका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गरे। पीडित याङ्जी शेर्पाले आफूलाई करिब एक वर्षअघि स्तन क्यान्सर भएको पत्ता लागेको बताइन्। भक्तपुर क्यान्सर अस्पतालमा परीक्षणका क्रममा रोग पुष्टि भएको भन्दै उनले आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भइरहेको सुनाइन्। “बिहान कमाएर साँझ खाने अवस्था छ, उपचारका लागि १७–१८ लाख रुपैयाँ लाग्ने भनिएको छ, त्यति ठूलो रकम जुटाउन सक्ने अवस्था छैन,” उनले भनिन्।

भक्तपुर क्यान्सर अस्पतालले जारी गरेको प्रमाणपत्रअनुसार शेर्पालाई स्तन क्यान्सर रहेको पुष्टि भएको छ। तरुण दल सोलुखुम्बुले सहयोग रकम सानो भए पनि पीडितलाई ‘तपाईं एक्लो हुनुहुन्न’ भन्ने सन्देश दिन खोजिएको जनाएको छ।




















