
काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको सूचीमा ४०औं स्थानमा परेको छ। बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ ले सार्वजनिक गरेको ‘टप १०० क्लब्स’ सूचीमा एलओडीले यो स्थान हासिल गरेको हो।
सन् २०२५ मा ४४औं स्थानमा रहेको एलओडी यस वर्ष ४ स्थान सुधार गर्दै ४०औं स्थानमा उक्लिएको हो। ‘डिजे म्याग’ ले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट क्लबहरूको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए।
एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई देशकै लागि गौरवको विषय भएको बताएका छन्। उनका अनुसार एलओडीको सफलता केवल एउटा क्लबको उपलब्धिमा सीमित नभई नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि हो।
‘टप १०० क्लबको सूचीमा ४०औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि हो,’ कुँवरले भने, ‘यसले अन्तर्राष्ट्रिय पर्यटक तथा क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।’
कुँवरका अनुसार क्लबको निरन्तर प्रगतिको पछाडि टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर मुख्य कारण हुन्। उनले आगामी दिनमा एलओडीलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्य रहेको बताए।
यसअघि एलओडी क्लब सन् २०२२ मा ५२औं, २०२३ मा ४९औं, २०२४ मा ५०औं र २०२५ मा ४४औं स्थानमा परेको थियो।






















