
कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले नदी बगरलाई आफ्नो अथक परिश्रमले हराभरा र फलदायी बनाएका छन्। बगरमा अहिले तरबुजा, काँक्रो, लौका, फर्सी, मुला र तोरैलगायतका फलफूल तथा तरकारीहरू प्रशस्त मात्रामा लटरम्म फलेका छन्।
आफ्नो उत्पादन बिक्री गर्नका लागि वनहराका १०० भन्दा बढी मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिकै अस्थायी टहराहरू निर्माण गरेका छन्। यी टहराहरूमा उनीहरूले दैनिक रूपमा तरबुजा र काँक्रोजस्ता फलफूल बिक्री गरिरहेका छन्। साँझ बिहान राजमार्गमा तरबुजा र काँक्रो खरिद गर्ने ग्राहकहरूको निकै चहलपहल देखिन्छ।
विगत छ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल रानाले राजमार्ग छेउको व्यापारले वर्षभरिको घरखर्च धान्न सहज भएको बताए। उनले तरबुजा लगायतका फलफूल बिक्री गरेर दैनिक दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिए। वैशाखदेखि असारसम्म उनीहरूले तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनको भनाइ छ। “जसको उत्पादन बढी हुन्छ, उसको आम्दानी पनि बढी हुन्छ,” रानाले भने, “थोरै उत्पादन गर्नेको आम्दानी थोरै हुन्छ।”
पन्ध्र वर्षदेखि बगर खेतीमा संलग्न बिरा रानाले बगरमा फलेको लौका र तरबुजा बिक्री गरिसकेपछि पुनःस्थापनाका क्रममा पाएको जग्गामा पनि खेती गरेका छन्। उनले बताएअनुसार तीन महिना सडक छेउमा बसेर तरबुजाको व्यापार गर्दै आएका छन्। “कमैया मुक्ति घोषणापछि वनहरा नदी छेउको जग्गामा पुनःस्थापना हुँदा घर बनाउन र खेती गर्न दश कट्ठा जग्गा दिइएको थियो,” उनले भने, “जग्गामा लगाएको अन्नबालीले चार महिना पनि खान नपुग्ने भएपछि केही वर्ष मजदुरी गरेरै जीविका चलायौँ।”
“अरु नदी बगरमा तरबुजा र काँक्रो रोपेको देखेपछि हामीले पनि सिक्यौँ। त्यसपछि मजदुरी गर्न छोडेर यसैमा भविष्य देख्न थाल्यौँ। अहिले तरबुजा राम्रै फलेका छन् र हामीले यो खेतीलाई निरन्तरता दिइरहेका छौँ,” बिरा रानाले भने। घरखर्च सहज रूपमा चलेकाले अरुसँग ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएकोमा उनी खुसी छन्।
राजमार्ग छेउमै बसेर १४ वर्षीया अस्मिता रानाले पनि तरबुजा बेच्दै आएकी छन्। “बिहान विद्यालय जान्छु,” उनले भनिन्, “त्यतिबेला आमाले टहराबाट बेच्नुहुन्छ, विद्यालयबाट फर्केपछि म बेच्छु।” टहरामा तरबुजा बेचेर आएको आम्दानीको केही हिस्सा घरखर्चमा राखेर बाँकी पैसा विद्यालयको पोसाक र कापी कलम किन्न प्रयोग हुने गरेको उनले बताइन्। वनहरा मुक्तकमैया बस्तीकै ४० वर्षीया पूजा रानाले एक दशकदेखि राजमार्ग छेउमा तरबुजा लगायतका फलफूल बिक्री गर्दै आएकी छन्। वनहरा नदीको बगरमा उनले दश कट्ठा जग्गामा तरबुजा खेती गरेकी छन्। “वैशाख महिनाको पहिलो हप्तादेखि बेच्न सुरु गरेका हौँ,” उनले भनिन्, “अहिलेसम्म ६५ हजार रुपैयाँभन्दा बढीको बिक्री गरिसकेका छौँ।” उनका अनुसार प्रतिकिलो तरबुजा ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुन्छ।
तरबुजा खेतीमा बीउबिजन र रासायनिक मलमा मात्र ३० देखि ४० हजार रुपैयाँसम्म खर्च भएको थेग्रा रानाले बताए। उनले बर्सेनि पाँच लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गर्दै आएको जानकारी दिए। यो महिनामा मात्र उनले २० क्विन्टल काँक्रो र ६० क्विन्टल तरबुजा बिक्री गरिसकेका छन्।
“बिहान बगरबाट टिपेर राखेको तरबुजा तथा तरकारी साँझ नपर्दै सकिन्छ,” नन्दलाल रानाले भने, “बढ्दो गर्मीका कारण ग्राहकले बढी माग गर्ने गरेका छन्।” उनले अरु ठाउँमा बेच्न लैजाँदा ढुवानी खर्च लाग्ने र धेरै श्रम गर्नुपर्ने भएकाले घर नजिकैको राजमार्गमा सहजै बिक्री हुने भएपछि टहरामा बसेर बेच्ने गरेको बताए।
पहिले इँटाभट्टामा काम गर्दै आएका तौला राना बगर खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि मजदुरी छोडेर तरबुजा खेतीमा लागेका हुन्। वनहराका मुक्तकमैयाहरूले आफ्नो क्षेत्रमा अरु व्यापारीलाई तरबुजा बेच्न भने रोक लगाएका छन्।
तरबुजा खरिद गर्न राजमार्ग छेउ पुगेका अमरपुरका अमरबहादुर ऐर वनहराका तरबुजा रसिला हुने भएकाले प्रत्येक वर्ष किनेर लैजाने गरेको बताउँछन्। “अरु ठाउँको भन्दा यहाँका तरबुजा मीठा र सस्ता छन्। त्यसैले हामी तरबुजा किन्न हरेक वर्ष यहाँ आउँछौँ,” उनले भने।